काठमाण्डौ
कात्तिक ४
नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा आउन सत्ता साझेदार नेपाली काँग्रेससँग आग्रह गर्ने भएको छ ।
आज बसेको माओबादी केन्द्रको कार्यालय समितिको बैठकले कांग्रेससंग महाअभियोगको पक्षमा आउन आग्रह गर्ने निर्णग गरेको बैठकपछि प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । प्रवक्ता भुषालका अनुसार आजै साँझ काँग्रेस र सभामुखसँग छलफल हुने बताउनुभएको छ ।
भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले जनाएको सहभागिता उपलब्धिमूलक भएको माओवादी केन्द्रको बैठकले निष्कर्ष निकालेको छ ।
माओबादीले सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेपनि काँग्रेसका एकजना नेताले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । आज राजधानीमा आयोजित साक्षात्कारमा कांग्रेस नेता एनपी साउदले अख्तियार प्रमुखलाई महाअभियोग लगाउनेबारे पार्टीभित्र कुनै छलफल नभएको र अहिले दर्ता भएको प्रस्तावमा कांग्रेसको कुनै संलग्नता नै नरहेको समेत बताउनुभएको हो । यद्यपी त्यसबारे कांग्रेसले संस्थागत रुपमा छलफल गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । नेता साउदले केन्द्रीय कार्यसमितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा समेत अनौपचारिक छलफल हुने बताउनुभयो ।
