काठमाण्डौ
कात्तिक १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंहको पूरानो बानेश्वरस्थित घरमा म्याद टाँस्ने सर्वोच्च अदालतको दोस्रो प्रयास पनि असफल भएको छ ।
![]()
यसअघि म्यान टाँस्नका लागि दशैँ अगाडी खटाइएका २ तामेलदार कार्कीको घरमा म्याद नटाँसी सम्पर्कविहिन भएपछि सर्वोच्चले अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस्न अरु दुईजना तामेलदारलाई पठाएको हो । आज अख्तियार प्रमुखको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतको टोलीलाई आफुहरु स्थानीयबासी भएको बताउने करिब १ दर्जनको संख्यामा रहेका युवाहरुले अवरोध गरेका छन् । आफुलाई सामसुङको कर्मचारी बताउने ति युवाहरुले कार्कीको घर सामसुङले भाडामा लिएकाले म्याद टाँस्न नमिल्ने भन्दै अवरोध गरेका हुन् । उनीहरूले म्याद टाँस्ने भए लोकमानकै कार्यालयमा गएर टाँस्नु भन्दै तामेलदारहरूलाई अवरोध गरेका हुन् । म्याद टाँस्न सहयोगका लागि वडा कार्यालयमा सर्बोच्चको टोलीले आग्रह गरेको थियो । वडा सचिव सरिता राईले आउने बताएर अन्तिम समयमा आउन नसक्ने खबर गरेपछि तामेलदारहरु म्याद नटाँसी फर्किएका छन् । अख्तियार प्रमुखमा नियुक्तिसम्बन्धी मुद्धामा सुनुवाइका लागि अदालत जान कार्कीले इन्कार गर्दै आउनुभएको छ । अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्की विरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेपनि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
अख्तियारको सरकारी निवासमा बस्दै आएका कार्की आफ्नो नियुक्ती सम्बन्धमा परेको मुद्धा पुनरावलोकनको निर्णयलगत्तै पछिल्लो समय क्यानडा भ्रमणमा हुनुहुन्छ । सरकारी भ्रमण सकिएपछि उहाँ विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बस्दै आउनुभएको छ ।
