विदेश गएर कमाएका नेपालीको लगानी स्वदेश ल्याउन मन्त्री महतको मलजल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २३ आइतवार ०८:१६ बजे

विदेश गएर कमाएका नेपालीको लगानी स्वदेश ल्याउन मन्त्री महतको मलजल

काठमाण्डौ
असोज २३
परराष्ट्रमन्त्री प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गर्नुभएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ एनआरएनए थाइल्याण्ड र एआइटी नेपाली समाज थाइल्याण्डद्वारा आयोजित बडादशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले जुन देशमा रहेको भएपनि आफूलाई त्यो स्थानमा पु¥याउन आफ्नो मातृभूमिको योगदान र लगानी रहेकोतर्फ सोचेर आफ्नो भूमिका लागि केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्न उहाँले विश्वमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।  परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री महत एसिया कोअपरेशन डाइलग एसिडी को दोस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै बैंकक पुग्नुभएको हो । बैंककमा रहेका नेपालीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री  महतले संसारमा रहेका नेपालीहरुले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।  नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अब अघि बढ्न लागेको बताउँदै उहाँले यो अभियानमा विश्व समुदायको सहयोग र सद्भाव रहेको र त्यसमा संसारमा रहेका नेपालीको पनि आ(आफ्नो ठाउँबाट सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । संविधानमा देखिएका कतिपय असन्तुष्टिहरुलाई सम्बोधनको प्रक्रिया नेपालले सुरु गरिसकेको जानकारी दिँदै उहाँले आगामी दिनमा राष्ट्रिय सहमति र सहकार्यका साथ अघि बढ्ने वातावरण सरकारले निर्माण गर्ने बताउनुभयो । उहाँले उक्त एसिडी सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेताका हैसियतमा सोमबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका विभिन्न सत्रहरु आजदेखि सुरु हुँदैछन्।  उक्त मञ्चमा एसियाका ३४ देश सदस्य छन्। बैंककमा सुरु हुन लागेको यो सम्मेलन दोस्रो हो । यसअघि यसको पहिलो सम्मेलन सन् २०१२ मा कुबेतमा भएको थियो । उक्त सम्मेलनमा एसियाका ३४ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीहरुको सहभागिता छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार