
नयाँदिल्ली । भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
भारतकाे मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।
बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ ।