प्रधानमन्त्री, चार पूर्व-प्रधानन्यायाधीश र पूर्व-सभामुखविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०५:५९ बजे

प्रधानमन्त्री, चार पूर्व-प्रधानन्यायाधीश र पूर्व-सभामुखविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुँदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व-प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्मा र पूर्व-सभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँच वटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए। मंगलबार नै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराएका हुन्।

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्व-प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए। आज यी सबै मुद्दा डाक्टर मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट