काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ।
ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार राजधानीका विभिन्न स्थानमा ७ प्रदेशका प्रशिक्षण कार्यक्रम हुनेछन्। विभिन्न नेताहरूले ती कार्यक्रममा प्रशिक्षण दिने छन्। ज्ञवालीका अनुसार कार्यगत प्रशिक्षण दिन विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।
प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने छन्। यस्तै प्रदेश नं २ बाट केन्द्रीय सदस्य बनेकाहरूलाई प्रशिक्षण दिन ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताेलाई जिम्मेवारी दिइएको छ ।
यस्तै वागमती प्रदेशमा ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन्। गण्डकी प्रदेशमा टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटाले प्रशिक्षण दिने छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिने छन्।
यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थपेका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले भने एक तिहाइ केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य थप्न नसक्ने बताएका छन्।
