काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरी खतिवडाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुको ढुलमुले चरित्रले मुलुकमा राजनीतिक संकट गहिरिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन् गर्दा विरोध गर्ने नेकपाका अन्य नेताहरुले ठोस् निर्णय लिन नसकेको खतिवडाको आरोप छ ।
हरेकन्युजसँग कुरा गर्दै युवा नेता खतिवडाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको जिकिर गरे । ‘हामी निर्वाचनसँग डराउने पार्टी होइन । सत्तारुढ पार्टीले सक्छ भने हिम्मत छ भने तोकिएको आगामी बैशाखमा निर्वाचनमा जाओस्, हामी तयार छौँ’ उनले भने ।
प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै केपी ओलीले संविधान कुल्चिने काम गरेको भन्दै नेता खतिवडाले भने,‘संविधानमा काहीँपनि उहाँलाई यो संसद विघटन गर्ने अधिकार छैन ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस स्विकृत गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको पदीय भूमिकामाथी पनि सत्तारुढ दलभित्रैबाट प्रश्न उठेको छ ।
राष्ट्रपतिको भूमिकाबारे युवा नेता खतिवडा भन्छन्,‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई रबरस्ट्याम्प बनाउनुभयो । मुलु्कको राष्ट्रपति बनाउनुभएन । आफ्नो रबरस्ट्याम्प बनाएर पार्टी,मुलुक,प्रतिपक्षी र संविधान पनि सक्ने काम गर्नुभयो भने त्यो नेपालको लागि सबभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था हुनेछ ।’
सत्तारुढ नेकपा पार्टी भएपनि पार्टीगत रुपमा चल्न नसकेको उनले दाबी गरे । कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डले भूमिका निर्वाह गर्न नसकेको र प्रधानमन्त्रीले पनि पार्टीभित्रकै खिचातानीले स्वतन्त्र ढंगले मन्त्रिपरिषद हेरफेर वा विस्तार गर्न नसकेको खतिवडाको जिकिर छ ।
मुलुकलाई अनिर्णयको बन्दी बनाईरहन नहुने भन्दै कम्युनिष्टले निकास दिन सक्दैन भन्ने प्रमाणित भएको उनले बताए । संविधानलाई मार्ने कुराको नेपाली कांग्रेसले विरोध गर्ने बताउदै नेता खतिवडाले राजनीतिक मुद्धाको आधारमा चुनावमा जाने हो भने कांग्रेस भने तयार रहेको बताए ।
थप भिडियोमा हेर्नुहोस् ।
