सलाङको शीर सिद्धलेक


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १६ सोमवार १२:३० बजे

सलाङको शीर सिद्धलेक

मनीषा अवस्थी
धादिङको मलेखुबाट कालुपाण्डे राजमार्गमा ८ किलोमिटर भित्र पुगेपछि आउने चर्चित कालिदह । कालिदहबाट झण्डै डेढ घण्टाको बाटो कटेपछि आउने सालाङ गाविसको आमकोट गाउँ, त्यतीमात्र हैन सलाङको शीरको रुपमा रहेको सिद्धलेक पनि । हो, त्यही सिद्धलेक काखमा रहेको मगरबस्तीमा महाशिवरात्री मनाउँन उत्साहित पर्यटन व्यवसायीको करीब ४५ जनाको टोली २०७३ साल फागुन १३ गते शुक्रबार बिहानै ८ बजे राजधानीको सोह्रखुट्टेबाट छुट्यो । आमकोटमा रहेको मगर समुदायसँग शिवरात्री मनाउने उत्साह बोक्दै पत्रकार र व्यवसायीको त्यही टोली बिहान करीब ११ बजे धादिङको कालिदह पुगेपछि उकालो लाग्यो । झण्डै १३ किलोमिटरको दुरीमा रहेको आमकोट पुगेर मगर समुदायसँग शिवरात्री मनाउन सबैजना आतुर थिए ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले नेतृत्व गरेको टोलीमा भिटोफका अध्यक्ष कमल सापकोटा, पूर्व पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगर, ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल टानका अध्यक्ष चन्द्र रिजाल, भिटोफकै बरिष्ठ सल्लाहकार एवंम् पर्यटन विज्ञ प्राध्यापक डाक्टर प्रेम शर्मा, भिटोफका मिडिया कोर्डिनेटर एवंम् द्वितिय उपाध्यक्ष दिपक दाहाल लगायत अन्य पर्यटन व्यवसायी र पत्रकारहरु थिए । काठमाडौंबाट गएको टोलीमा धादिङका राजनीतिक दलका प्रतिनिधि तथा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष दिपक कँडेल पनि सहभागी भएका थिए ।

मध्यान्ह साढे १२ बजे आमकोट गाउँमा पुगेपछि सबैजनाको प्रतिक्षाको बाँध फुट्यो । फूलमाला र बाजागाजा सहित स्थानीयहरू गाडी ओर्लिने ठाउँसम्म पुगे पुगेर भव्य स्वागत गरेका थिए । करीब २ सम्ममा सबै जनाले खाना खाइसकेपछि सालाङ र नालाङ गाउँको रक्षाका लागि शीर बनी बसेको सिद्धलेकको दर्शनका लागि उकालो लाग्यो । नलाङ गाविस वडा नं. १ र सलाङ गाविस वडा नं. ४ को बीचमा अवस्थित करीब १६०० मिटर अग्लो सिद्धलेक र त्यसकै साथमा रहेको १५२५ मि अग्लो ढेवालेक टेक्न टोली उकालो लाग्दा दिउँसोको २ बजिसकेको थियो । स्थानीय बाजागाँजासहितको टोली बाटोभरी फूलेका लालीगुँरासका बोटहरू नियाल्दै, मनोरम डाँडाकाँडा दृश्यावलोकन गर्दै, नाच्दै गाउँदै करीब डेढ घण्टाको उकालो चढेपछि माथि टाकुरो ढेवालेकमा पुग्यो । सिद्धलेकसँगै रहेको ढेवालेकबाट जिल्लाको सल्यानटार बाहेक सबै ४९ वटा गाविस सहजै देख्न सकिन्छ । यसैगरी सोही डाँडाबाट सेतै टल्किने गणेश हिमाल मनाश्लु लगायतका हिमाल लगायतका उच्च हिमश्रृङ्खलाका मनोरम दृष्य देख्न सकिन्छ । त्यसकै पारीपट्टी १० मिनेट हिड्दा साँच्चिकै धादिङको रक्षाकै लागि बसेको जस्तो देखिने सिद्धलेक छ । ती दुवै डाँडाहरूमा सबैले आ–आफ्नो तरिकाले शिवरात्री मनाए । शिवरात्रीका अवसरमा लागेको मेलामा पुगेपछि सबैले खुशी व्यक्त गरे ।

आमकोटका गाउँलेहरूले योजनाका रुपमा अगाडी सारेको होमस्टेमा पनि सोही सिद्धलेकको आकर्षण देखाउन सकिन्छ । सलाङ मात्रै हैन नलाङ पनि यही सिद्धलेखको ट्रेकिङ र धार्मिक महत्वले पर्यटकीय गाउँ बनाउन सकिने देखिन्छ । यी गाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने बाटो भिटोफ नेपाल लगायत पर्यटन क्षेत्रका पेशागत संगठन देखाउन सके साँच्चिकै नेपालकै उच्च पर्यटकीय गाउँ बन्न सफल हुनेछ । भिटोफ नेतृत्वकको टोली बसेको आमकोट मगर गाउँमा मौलिक संस्कार, मगरहरूका परम्परागत खानेकुरा, स्थानीय भाषा, उच्च अतिथि सत्कारलाई विशेष प्राथमिकतामा राख्न जरूरी छ । मगर संस्कृतिलाई मौलिक तरिकाले प्रस्तुत गर्न सके आन्तरिक पर्यटकहरूबाट मात्रै पनि सम्वृद्धिको दिशा दिनेछ । यसैगरी धादिङका सबै गाविस एकै ठाउँबाट हेर्दै मनोरम ग्रामीण अनुभुति गर्न सकिने प्रकृतिले दिएको बरदान सिद्धलेक र ढेवालेकको धार्मिक पर्यटकीय महत्वको प्रचारप्रसार गर्नु पनि महत्वपूर्ण देखिन्छ । राजधानीबाट करीब ४ घण्टाको दुरीमै रहेकाले पनि राजधानीबाटै पनि यो गाउँको प्रचारप्रसारमा ध्यान दिन सकिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार