काठमाण्डौ
१६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको पनि उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न पनि आग्रह गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ ।
