आज फेरि शहिदलाई सम्झिदै मुण्टो निहुराउने दिन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार ०९:०८ बजे

आज फेरि शहिदलाई सम्झिदै मुण्टो निहुराउने दिन

काठमाण्डौ
१६ माघ ।

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदहरुको सम्झनामा आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन आज विशेष दिनका रुपमा सहिद दिवस मनाउने गरिन्छ ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सहिद धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । अहिले बिहान महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले रत्नपार्क्स्थित शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भई केहीबेरमा लैनचौरस्थित सहिद स्मारकमा पुगेर विशेष कार्यक्रम गरिने कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो । लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार