काठमाण्डौ, २४ पुस ।
व्यवस्थापिका संसद्को आज बस्ने बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार दिनभर सक्रिय रहेपनि प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्नेबारे ढुक्क हुने स्थिति देखिएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकलाई संसद्मा टेबुल गर्ने वातावरणका साथै स्थानीय निर्वाचनको मिति घोषणालगायत विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ परामर्श गर्नुभएको छ ।
दाहालको सचिवालय स्रोतका अनुसार आइतबार संविधान संशोधन विधेयक संसद्मा टेबुल गर्ने कसरतमा प्रधानमन्त्री दाहाल रहनुभएको छ । दाहालले चुनाव गर्न सरकार कटिबद्ध रहेको भन्दै संशोधन विधेयकलाई प्रक्रियामा लैजान राष्ट्रपतिको सहयोग मागेका थिए ।
माघ दोस्रो हप्ताभित्र निर्वाचनसम्बन्धी कानुन निर्माण गर्न सक्यौं भने जेठ दोस्रो सातासम्म स्थानीय निर्वाचन गर्न सकिन्छ’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो । राष्ट्रपति भण्डारीले मुलुकलाई निकास दिन प्रमुख दलबीच एकता, सहकार्य र सहमति अझै आवश्यक रहेको बताउनुभएको छ ।
त्यसअघि दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा संसद् अवरोध जारी राखे एमाले जनताबीच नांगिने बताएका थिए । सर्वोच्च अदालतले संशोधन प्रस्ताव अघि बढाउन मार्गप्रशस्त गरिसकेको र मधेसीलगायत दलले पनि सहमति दिइसकेकाले संशोधन अघि बढ्ने जिकिर पनि प्रधानमन्त्रीको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
