काठमाण्डौ
मंसिर २९
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबिच सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरुद्ध गर्ने सहमति भएको छ । नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको निवास भक्तपुर कमलबिनायकमा आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बिजुक्छेबिच भएको भेटवार्तामा संसदको अवरोधलाई कायम राख्न दुबै नेता सहमत भएका हुन् ।
संशोधन प्रस्तावको विरोधमा संसदमा अवरोध जारी राख्ने तथा सडकमा भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउने बिषयमा दुबै नेता सहमत देखिएका छन् । भेटमा दुई नेताबिच देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा छलफल भएको हो । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद्को जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा दुबै नेताबीच छलफल भएको बताउनुभयो । सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै पूर्वसभामुख समेत रहनुभएका नेता नेम्वाङलेसंविधान संशोधनको विषयलाई लिएर संसद्मा गरिएको अवरोधलाई निरन्तरता दिने र अझै सशक्त ढङ्गले अगाडि बढ्नेबारेमा दुई दलबीच छलफल भएको बताउनुभयो । त्यस्तै नेमकिपाका अध्यक्ष बिजुक्छेले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद्को अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिनुभयो । अध्यक्ष बिजुक्छेले स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन कानुन नै नबनेको अवस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाँती राखेर निर्वाचनमा जाने भन्ने चर्चा सत्तापक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको आरोप लगाउनुभयो ।
यसैबिच, प्रतिपक्षी दलहरुले संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिइरहेका बेला भोलि बस्ने व्यवस्थापिका संसदको बैठक पनि अवरुद्ध हुने भएको छ । गएको २४ गतेपनि प्रतिपक्षी दलहरुको अवरोधले कार्यशुचीमै प्रवेश नपाई स्थगित भएको संसद बैठक भोलि बस्न लागेको हो । संसद बैठक करिब १ हप्ता स्थगित भएपनि यो बिचमा दलहरुबिच संसद सुचारु गर्ने विषयमा गम्भिर छलफल हुन सकेको छैन । २४ गते संसद स्थगित गरेर त्यसको भोलिपल्ट संयुक्त अरब इमिरेट्स यूएई गएकी सभामुख ओनसरी घर्ती आजमात्रै स्वदेश फर्किदै हुनुहुन्छ । महिला सभामुखको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भएर सभामुख घर्ती आज बेलुका पौने ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
सभामुखले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबिच संसदको अवरोध सुचारु गर्नेबारे गरेको परामर्श असफल भएको थियो । यसअघि प्रतिपक्षी दलहरुले पाँचौपटक सम्म संसद निरन्तर अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षी दलहरुको अवरोधले संसदमा छलफलको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ ।
