काठमाण्डौ
मंसिर २८
अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण एएफसी कपको प्ले अफ खेल्न नपाएको भन्दै राष्ट्रिय लिग विजेता थ्री स्टार क्लब ६ करोड क्षतिपुर्ति माग गरेको छ । ललितपुरमा आज पत्रकार सम्मलेन गरेर थ्री स्टारले एन्फासंग क्षतिपूर्तिस्वरुप ६ करोड क्षतिपुर्ति माग गरेको हो ।
साथै उसले क्षतिपुर्ति नपाए कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने चेतावनी दिएको छ । एसियाको प्रतिक्षित तथा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले अफ खेल्न नेपालको लिग विजेता थ्रीस्टारलाई निम्तो आएको थियो । तर एन्फाका पदाधिकारीको लापरबाहीले गर्दा प्रतियोगितामा सहभागी हुने क्लब र खेलाडीको नाम एएफसीलाई जानकारी नदिएपछि थ्रीस्टारले क्षतिपूर्ति माग गरेको हो । मंगोलियामा एएफसी कपको प्रारम्भिक छनोट खेल खेलिसकेको थ्रीस्टार प्ले अफका लागी छनौट भएपनि एन्फाले एएफसीलाई समयमै क्लबको नाम नदिएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । यसबारे छानविनका लागि एन्फाले आयोग गठन गरीसकेको बताएपनि फुटबल गतिविधीमा गम्भिर लापरबाही गरिएको भन्दै एन्फाका पदाधिकारीको चर्को आलोचना भएको छ ।
