काठमाण्डौ
मंसिर २४
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रतिपक्षी दलहरुले आजपनि संसद बैठक अवरुद्ध गरेका छन् । यो समेत संसद बैठक लगातार पाँचौपटक सम्म अवरुद्ध भएको हो ।
आज बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलले अवरुद्ध गरेका हुन् । ती दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहो¥याएपछि सभामुख ओनसरी घर्तीले यही मङ्सिर ३० गतेसम्मका लागि संसद बैठक स्थगित गर्नुभएको छ । सभामुखले आगामी २०७४ माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन गरिसक्नुपर्ने र विभिन्न ऐन कानुन बनाउनुपर्ने भएकाले सदनको कारबाहीमा अवरोध सिर्जना नगर्न अनुरोध गर्नुभएको थियो । तर विपक्षी सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गर्दै संसद अवरुद्ध गरेपछि बैठक मङ्सिर ३० गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
