सभामुखको प्रयासलाई केपी ओलीले बालुवामा पानी हालेसरह बनाए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार १८:५७ बजे

सभामुखको प्रयासलाई केपी ओलीले बालुवामा पानी हालेसरह बनाए !

काठमाण्डौ
मंसिर २३

संविधान संशोधन प्रस्तावमाथीको विरोधमा निरन्तर संसद बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीमगरले दलीय सहमति जुटाउन पहल थाल्नुभएको छ ।

सभामुख घर्तीले आज आफ्नै कार्यकक्ष सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । आज अपरान्ह भएको भेटमा उहाँहरुबिच संविधान संशोधन प्रस्तावलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल भएको छ । कांग्रेस सभापति देउवासँगको भेटमा सभामुख घर्तीले प्रतिपक्षी दलहरुले संशोधन विधेयकको विरोधमा गरिरहेको संसद अवरोधलाई हटाउनेबारे छलफल भएको छ । देउवासँगको छलफल लगत्तै सभामुखले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । सो क्रममा ओलीले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदमा अवरोध नहट्ने अडान सुनाउनुभएको छ ।  बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै एमाले अध्यक्ष ओलीले सहमति गर्न आफुहरु तयार रहेको तर सबैभन्दा पहिले संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने कुरा सभामुखसमक्ष आफुले राखेको बताउनुभयो । सभामुखले संसद चल्ने वातावरण बनाउन आग्रह गरेपनि ओलीले भने संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने एमालेको सर्त रहेको बताउनुभयो ।

भोलि संसद बैठक बस्नुअघि सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी संसदको कार्यसूचीमा रहेका अन्य विषयहरुलाई अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम छ । सभामुखले आजै प्रधानमन्त्रीसँग छलफल गर्न खोजेपनि प्रधानमन्त्री दाहाल सुदुर पश्चिम जाने कार्यक्रम भएकाले छलफल भोलिका लागि सारिएको हो । सभामुख घर्ती पर्सी शनिबार युनाइटेड अरब इमिरेट्समा हुन लागेको महिला सभामुखको सम्मेलनमा भाग लिन त्यसतर्फ जाने कार्यक्रम भएकाले त्यसअघि नै संसदको अवरोध हटाउने प्रयासमा लाग्नुभएको हो । यसअघि सभामुखले कार्यसूचीमा संविधान संशोधन विधेयक नराखे पनि विपक्षी दलहरुले लगातार चौथो दिन संसद बैठक अवरुद्ध गरेका थिए । संसद बैठक भोलि अपरान्ह ३ बजे बस्दैछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार