काठमाण्डौ
मंसिर २३
दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ जाँदैहुनुहुन्छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहाल बिहान १० बजे हेलिकप्टरमार्फत त्यसतर्फ जाने कार्यक्रम छ ।
स्थलगत अनुगमनपछि प्रधानमन्त्री दाहालले आयोजनाको कार्यगत प्रगति र पछिल्लो अवस्थाका विषयमा जानकारी लिई आवश्यक निर्देशन समेत दिने बताइएको छ । दार्चुलामा निर्माणाधीन ३० मेगावाट क्षमता भएको सो आयोजना सन् २००६ को जनवरीबाट निर्माण सुरु भई सन् २०११ को मेमा नै सम्पन्न हुनुपर्ने थियो । तर सो आयोजना पटकपटक भेरियसन हुँदै आएको छ । जसका कारण आयोजनाको लागतसमेत १५ अर्ब नाघिसकेको छ । यसबीचमा प्रधानमन्त्रीले सो आयोजनाको कार्यगत प्रगतिका बारेमा चासो देखाउँदै स्थलगत अवलोकन तथा निरिक्षण गर्न लाग्नुभएको हो । चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुमगनपछि प्रधानमन्त्री दाहाल सुर्खेतमा आजदेखि सुरु हुने कर्णाली एक्स्पो उद्घाटनका लागि त्यसतर्फ जानुहुने छ ।
उहाँले आज अपराह्न २ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रम सकेर दाहाल आजै साँझ काठमाडौँ फर्कने उहाँको निजी सचिवालयले जनाएको छ ।
