काठमाण्डौ
मंसिर १९
नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २६ औ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरि उहाको सम्झना गरिदै छ । यस सन्दर्भमा आज नारायण गोपाल संगीत कोषलगायतका विभिन्न संस्थाले उहाको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । राजधानीको महाराजगञ्जस्थित चोकमा रहेको उहाँको शालिक नजिकै आज हुने कार्यक्रममा विभिन्न कलाकारहरुले नारायण गोपालका गीतहरु गाउने कार्यक्रम छ ।
बुवा आशागोपाल गुरुवाचार्य र आमा रामदेवीबाट विक्रम सम्बत १९९६ असार १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका नारायणगोपालका झण्डै ५ सय गीत रेकर्ड भएका छन् । शास्त्रीय, आधुनिक, चलचित्र, स्वदेशगानमा स्वर र संगीत दिनुभएका नारायण गोपालका सबैजसो गीत कालजयी छन् । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाई बन्ने गरेका छन् । २६ बर्ष भन्दा अगाडि उहाँले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन् ।
नारायण गोपाल आफ्नो जीवनकालमा २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरुस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री सम्मानबाट सम्मानित हुनुभएको थियो । उहालाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
