काठमाण्डौ
मंसिर १७
साबिकको पाँच नम्बर प्रदेशमा रहेका जिल्ला टुक्राउने प्रस्तावको विरोधमा आज पनि विहानै देखि दाङ, पाल्पा, प्युठान, अर्घाखाँची र बुटवलमा प्रदर्शन जारी छ । पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम टुक्र्ययाएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले विधेयक दर्ता गरेपछि त्यसको विरोधमा अस्तिबाट प्रदर्शन भएको हो ।

आज पनि जारी प्रदर्शनमा सर्वसाधारण, विद्यार्थी, व्यापारी, नागरिककर्मी, सत्तासीन र विपक्षी दलका नेता–कार्यकर्तालगायत सहभागी छन् । पूर्वघोषित संघीय प्रदेशको ढाँचाअनुसार सीमांकन कायम हुनुपर्ने माग त्यस क्षेत्रका बासिन्दाको छ ।
प्रदेश सीमांकन हेरफेर चित्त नबुझेको भन्दै प्युठान र अर्घाखाँचीका विभिन्न बजार बन्द घोषणा गरिएको छ । यस्तै संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको विरोधमा पाल्पाका युवा, तरुण विद्यार्थीले आज पनि पाल्पा बन्द जारी राखेका छन् । त्यसैगरी पाँच नम्बर प्रदेशबाट अलग्याएर चार नम्बरमा गाभ्ने सरकारी प्रयासविरुद्ध रोल्पामा पनि आन्दोलन कडा बन्दै गएको छ । रोल्पालीले स्वस्फूर्त आ–आफ्ना व्यवसाय बन्द गरेर आन्दोलन थालेका छन् । दाङमा पनि सरकारी प्रस्तावको विरोध भएको छ । बुटवलमा पनि सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित उद्योगी व्यवसायीले जुलुस गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो । उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले प्रदेश नं. ५ लाई विभााजन गरेर पहाड र तराईको सदियौँदेखिको सम्बन्ध तोडन खोजेको भन्दै यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।
