काठमाण्डौ
मंसिर १५
सरकारले आफ्नो माग पुरा गर्न भन्दै संविधान संशोधन प्रस्ताव दर्ता भगरेसंगै त्यसबारे धारणा बनाउन संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठक आज बस्दै छ । बैठकमा संविधान सशोधन प्रस्तावमा उल्लेख गरिएका विषयमा छलफल हुने जनाईएको छ ।

केही दिनअघि प्रधानामन्त्रीसंगको छलफलका क्रममा मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछिमात्र गुण र दोषका आधारमा समर्थन गर्ने वा नगर्ने बताएको थियो । सरकारले हिजो साझ संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो ।
यसैबिच, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव प्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सरकारले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको सम्बोधन नगरेको आरोप लगाउनुभएको छ । मधेस आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्तता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको यादवले बताउनुभएको छ । त्यस्तै अध्यक्ष यादवले आदिवासी जनजाति, थारु, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ति गरेको जिकीर गर्नुभएको छ ।
