काठमाण्डौ
मंसिर १५
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिदेखि नै संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्तावको विरोधमा सदन अवरुद्ध गर्ने निर्णय गरेको हो । बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भएकाले पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
संसद्को बैठक सुरु हुनु १५ मिनेट अगावै आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि पनि बैठकले निर्देशन दिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण उपनेता सुवास नेम्वाङको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने संविधानको ठाडो उल्लंघन गरेर प्रदेशको सीमाकन हेरफेर गरिएको बताउनुभयो । बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले मर्यादित रुपमा प्रस्तुत हुनुपर्ने र जाइलाग्न कोहि आउछ भने नभाग्ने बरु पछार्नुपर्ने बताउनुभयो । सरकारले छापामार शैलीमा रातारात संशोधन विधेयक दर्ता गरेको र योसंशोधन प्रस्ताव संविधानविपरित रहेको एमाले सांसदहरुको भनाई छ । एमालेले यसअघि नै स्थायी समिति बैठकबाट संशोधनको विपक्षमा उभिने निर्णय गरिसकेको छ । स्थायी समितिले संशोधनको सडक र सदनबाट प्रतिकार गर्ने निर्णय गरेको थियो ।
