काठमाण्डौ
मंसिर १२
संविधान संशोधनका लागि अन्तिम तयारीमा पुगेको सरकारले आजपनि प्रस्ताव संसदमा दर्ता नगर्ने भएको छ । आज दिउसो बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनबारे सामान्य छलफल भएपनि पारित हुन नसकेको हो ।

गत शुक्रबार नै संविधान संशोधन संसद सचिवालयमा दर्ता गर्ने मनस्थितीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आजपनि प्रस्ताव दर्ता गर्न असफल हुनुभएको हो । मन्त्रिपरिषद बैठकमा भोलिपनि संशोधन प्रस्तावमाथी छलफल हुने भएको छ । प्रधानमन्त्री दाहालको ब्यस्तताले आजको मन्त्रिपरिषदबाट प्रस्ताव पारित हुन नसकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमाथी एमालेसँग पनि छलफल भइरहेकाले भोलिमात्रै टुंगो लगाउने बताउनुभएको बुझिएको छ । हिजो बसेको सत्तारुढ दलहरुको बैठकले पनि मधेसी मोर्चासँग पुनः छलफल गरी प्रस्तावलाई अन्तिम रुप दिने निर्णय गरेको थियो । माओवादी केन्द्र र नेपाली कांग्रेसका केहि नेताहरु अहिलेपनि प्रमुख प्रतिपक्षी एमालेलाई संशोधन प्रस्तावको पक्षमा ल्याउन छलफलमा रहेको जनाइएको छ । यसअघि आजै बिरगंजमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव आज नै संसद सचिवालयमा दर्ता हुने बताउनुभएको थियो । प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने भन्दै देउवाले आज नै संशोधन प्रस्ताव सरकारले दर्ता गराउने विस्वास व्यक्त गर्नुभएको थियो । यद्यपी प्रधानमन्त्री दाहालले एमालेलाई समेत समेट्ने प्रयास भइरहेको बताएपछि संशोधन प्रस्ताव आज दर्ता नगराइएको हो ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संविधान संशोधन प्रस्तावको बिरोध गर्दै आइरहेको छ । सरकारले प्रस्ताव दर्ता गरेलगत्तै विभिन्न क्षेत्रमा विरोध प्रर्दशन गर्ने रणनीतिमा एमाले पुगेको छ । सरकारले संशोधन प्रस्ताव दर्ता गरेमा विरोधमा उत्रिन एमालेले यसअघि नै पार्टीका सम्पूर्ण भातृसंगठनलाई निर्देशन दिइसकेको छ ।
