काठमाण्डौ
मंसिर ८
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुने बताउनुभयो । यादवले मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन हुने गरी संशोधन नगरिए संविधान संशोधन प्रस्ताव निरर्थक हुने दाबी गर्नुभयो । समानुपातिक, समावेसी, सीमाङ्कन, भाषिक अधिकारलगायत पहिचानसँग सम्बन्धित राष्ट्रिय सवाललाई सहमतिका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिदैं उहाँले नेपाली भाषा लादिएका कारण मातृभाषाको अस्तित्व सङ्कटमा परेकाले अब भाषिक विभेद्लाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
