काठमाण्डौ
कात्तिक ३०
राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल र राष्ट्रिय पजातन्त्र पार्टिबीच एकता सम्झौता हुने भएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ६ गते पार्टि एकता गर्ने गरी समझदारीपत्रमा राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच एकताका लागि सम्झौता भएको हो ।
बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै दुई पार्टीबीच एकीकरण हुन लागेको हो । राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार एकीकृत पार्टीको महाधिवेशन आगामी माघभित्रै सम्पन्न गर्ने समझदारी भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता टोलीले एकीकरण सम्बन्धि नीति तथा आधारलाई दुवै पार्टीले अनुमोदन गरेपछि एकता सम्झौतामा हस्ताक्षर भएको हो । एकतापछि पार्टीको नाम राप्रपा मात्रै हुनेछ भने चुनाव चिन्ह राप्रपा नेपालको गाइ हुनेछ । यसअघि राप्रपाको चुनाव चिन्ह हलो थियो ।
नेपाल प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा हुने भएको छ । गत साउनमा पार्टी एकीकरणको अन्तिम तयारी भएपनि अन्तिम क्षणमा पार्टी एकीकरण प्रक्रिया बिथोलिएको थियो । यसपटक त्यो अवस्था नआउने सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।
