काठमाण्डौ
कात्तिक २९
मधेसी मोर्चा सहितको संघिय गठबन्धनले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई १५ दिनको समय दिएको छ । गठबन्धनका नेताहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी आफुहरुसँगको सहमतिअनुसार अबको १५ दिनभित्र संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउन अल्टिमेटम दिएको हो ।

भेटको सुरुमै प्रधानमन्त्री दाहालले सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गर्नलागेको जानकारी दिएपनि गठबन्धनले आफुहरुसँग थप छलफल गरी सबैले स्विकार्ने प्रस्ताव तयार पार्न भन्दै समय तोकेको हो । त्यसबेलासम्म पनि संशोधन प्रस्ताव दर्ता नभए पुनः आन्दोलनमा जाने गठबन्धनले चेतावनी दिएको छ । यसअघि गठबन्धनले तिहार र छठ पर्वको समयसम्म सरकारले संशोधन प्रस्ताव तयार नपारे आन्दोलनमा जाने चेतावनी दिदै आएको थियो । त्यसपछि कात्तिक मसान्तसम्म सरकारको बाटो हेर्ने बताएको गठबन्धनले करिब २ हप्ता कुर्ने भएको हो । सरकार गठनको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव दर्ता गर्ने घोषणा गरेपनि गठबन्धनले समय थपिदिएर सरकारलाई थप सजिलो बनाइदिएको छ । गठबन्धनसँगको छलफलमा दाहालले अबको १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिवद्धता जनाउनुभयो । सीमाकंन, नागरिकता, भाषा लगायत विषयमा संशोधनको प्रस्ताव प्रधानमन्त्री दाहालले तयार पार्ने मनस्थिती बनाएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संविधान संशोधनको आधार औचित्य पुष्टि हुनुपर्ने अडान लिदै आएको छ ।
यसैबीच संविधान संशोधन गर्न दबाब दिने भन्दै संघीय गठबन्धनमा आबद्ध दलले व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएकोमा भोलिबाट संसद अवरुद्ध नगर्ने जनाएको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले औपचारिकरुपमा १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्न समय दिएको भन्दै भोलिदेखि संसद बहिष्कार गर्ने कार्यक्रम फिर्ता लिने बताउनुभयो ।
