काठमाण्डौ
कात्तिक १०
दुई पक्षिय मामिलाका समग्र विषयमा देखिएका समस्या समाधानको लागी गठन गरिएको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहा साढे १० बजे त्यसतर्फ जानुभएको हो ।
भारतको नयाँदिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा आज सचिवस्तरिय छलफल हुने छ । भोली मन्त्री स्तरिय बैठक हुने छ । बैठकमा नेपालका तर्फबाट मन्त्री महतले प्रतिनिधित्व गर्नुहुनेछ ।
बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि कुरा उठाउने मन्त्री महतले बताउनुभएको छ । बैठकमा नेपाल–भारतबीचका विभिन्न समयमा भएका सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल पनि हुनेछ । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
