काठमाण्डौ
कात्तिक ९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथी संसदमा लगाइएको महाअभियोगको प्रस्तावबारे आधिकारीक धारणा नबनाई कांग्रेस केन्द्रिय समिती बैठक सकिएको छ ।
केहिदिनदेखि लगातार बसेको कांग्रेस बैठकमा मिश्रित धारणा आएपनि पार्टीको आधिकारीक धारणा आउन नसकेको हो । महाभियोग प्रस्ताव संवैधानिक प्रक्रियामा प्रवेश गरेको र छानविन समिति बनिसकेको अवस्थामा समितिले स्वतन्त्र ढंगले छानविन गर्नुपर्ने कांग्रेस नेताहरुले बताएका छन् । संसद्को विशेषाधिकारभित्र रहेर बाहिरका अन्य दलको प्रभावमा नपरि समितिले छानविन गर्ने र त्यसपछि मात्र आवश्यक गृहकार्य गरेर पार्टीले निर्णय लिने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । केन्द्रिय समितीमा धारणा राख्ने अधिकांश सदस्यहरुले अख्तियार बलियो हुनुपर्नेमा लोकमानसिंह कार्की अधिनायक भएको कारण कारबाही आवश्यक भए पनि सत्ता साझेदार दल माओवादी केन्द्रले कांग्रेसलाई लुकाएर एमालेसँग गरेको गठबन्धन शंकास्पद भएको, बताएका छन् ।
यस्तै ठुलो दलसंगै छलफल नै नगरी महाअभियोग ल्याएको भन्दै नेताहरुले असन्तुष्ट जनाएका छन् । केहि नेताहरुले महाअभियोग प्रस्तावमा सकारात्मक हुन नेतृत्वलाई दवाव दिदै आएका छन् ।
