काठमाण्डौ
कात्तिक ७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले लोकमानविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्नुअघि सामान्य छलफल पनि नगरेकोप्रति रोस प्रकट गरेको छ ।
राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलानाथ गिरिले महाअभियोग लगाउनुपर्नाको कारणहरु अध्ययन गरेरमात्र राप्रपाले महाअभियोगको प्रस्तावमा सघाउने वा नसघाउनेबारे निर्णय लिने बताउनुभयो । भ्रष्टचारीलाई हटाउन महाअभियोगको प्रस्ताव आएको वा जोगाउन आएको भन्नेबारे स्पष्ट भईसकेपछि पार्टीले कदम चाल्ने उहाँको भनाई थियो । यद्यपी महाअभियोग लगाउनुपर्नाको कारणहरुमा चित्त बुझेको खण्डमा राप्रपा नेपाल महाअभियोगको पक्षमा उभिने उहाँले संकेत गर्नुभयो । पार्टी अध्यक्ष कमल थापा अहिले मुलुकबाहिर रहेकाले आवश्यक परे अध्यक्ष थापालाई बोलाएर भएपनि निर्णय लिइने उहाँले बताउनुभयो ।
मधेसकेन्द्रित दलहरुले पनि आफुहरुसँग छलफल नै नगरी महाअभियोग प्रस्ताव पेश गरेकोमा असन्तुष्टि जनाउँदै मध्यस्त भूमिकामा रहने संकेत गरेका छन् । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संवैधानिक निकायका प्रमुखलाई महाअभियोग लगाउनेजस्तो गम्भीर निर्णय लिँदा छलफल नगरेको भन्दै त्यसबारे आफ्नो कुनै प्रतिक्रिया नरहेको जिकिर गर्नुभयो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
माओवादी सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक भएर दर्ता गराइएको महाअभियोग प्रस्तावमा कार्की सो पदका लागि आयोग्य र अक्षम भएको, पदमा रहँदा संवैधानिक प्रावधानको उल्लंघन गरेको लगायतका आरोप लगाइएको बुझिएको छ ।
