काठमाण्डौ
कात्तिक ४
व्यवस्थापिका संसद बैठक सूचना टाँसेर अचानक स्थगित भएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि भएको हो ।
संसद सचिवालयका अनुसार अख्तियार प्रमुख कार्कीविरुद्ध पेश गरिएको महाअभियोगबारे अन्य दलसंग साझा धारणा बनाउन माओबादी र एमालेले समय माग गरेपछि बैठक गरिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्कीविरुछ हिजो संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । माओवादी सांसद महेन्द्रबहादुर शाही प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक हुनुहुन्छ ।
यसैबीच सभामुख ओनसरी घर्तीले आफ्नो जेनेभा भ्रमण स्थगित गर्नुभएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको र आइतबार संसद बैठक बस्ने भएकाले सभामुख घर्तीले जेनेभा भ्रमण स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । प्रमुख दलका प्रमुख सचेतकसहित सभामुख घर्ती भोली अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।
