काठमाण्डौ
कात्तिक ३
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनबारे मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । व्यवस्थापिका संसदमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले छठ पर्वभित्रै संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिने जानकारी गराउनुभयो ।
संविधानप्रति असन्तुष्ट पक्षसँग विभिन्न चरणमा छलफल भइरहेको बताउदै उहाँले सबैको सहमतिमा संविधान संशोधन गरिने बताउनुभयो । संविधान संसोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरी सबै तहको निर्वाचन गर्नेतर्फ सरकार अग्रसर रहेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनसम्बन्धीका महत्वपूर्ण आयोग संसदमा प्रस्तुत भइसकेकाले संविधान कार्यान्वयन प्रकृया पनि अघि बढिसकेको संकेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएपछि गरेका सम्पूर्ण कामको जानकारी संसदलाई गराउनुभएको छ । एक प्रसंगमा प्रधानमन्त्री दाहालले आफ्नो भारतको गोवा भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । उहाँले नेपाल र भारतले अघि बढाएका परियोजना नियमित अनुगमन गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुराकानी भएको बताउनुभयो । भारतबाट सञ्जालित चालु योजना तत्काल सञ्चालन गर्ने सहमति भएको समेत दाहालले प्रष्ट पार्नुभयो । नेपालस्थित भारतीय दूतावास र नेपाल सरकारका सचिवको नेतृत्वमा भारतबाट सञ्चालिन परियोजना अनुगमन गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भारतको गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ सँगको त्रिपक्षीय भेटवार्तालाई एउटा ठूलो अवसर भएको दोहो¥याउनुभएको छ ।
त्रिपक्षीय भेटवार्ताका विषयमा अनावश्यक चर्चा गरेर मित्र राष्ट्रसँगको सम्बन्धमा असर पार्ने टिकाटिप्पणी नगर्न समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभयो ।
