लोकमानसँग पूरै देश थर्कमान !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:३७ बजे

लोकमानसँग पूरै देश थर्कमान !

काठमाण्डौ
कात्तिक २
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको महिना लामो विदेश यात्रा र सर्वोच्च अदालतले पटक पटक प्रयास गर्दासमेत म्याद तामेल गर्न नसकेको अवस्थाबारे संसद्मा प्रश्न उठेको छ ।

सांसदहरुले कार्कीको महिनादिन लामो विदेश यात्रा र सर्वोच्च अदालतले कार्कीको उपस्थितिका लागि म्याद तामेल गर्न नसकिरहेको अवस्थाबारे सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेका छन् । कार्कीले न्यायलयलाई पनि अवज्ञा गर्न खोजेको र म्याद तामेल गर्न अदालतले पनि आलटाल गरेको भनाइ सांसदहरुको छ । वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका सांसद राधेश्याम अधिकारीले कार्की एक महिनादेखि विदेशमा बस्नुपर्ने कारण संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो । आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले संवैधानिक निकायका प्रमुख व्यक्ति किन विदेश गएका हुन् र कहिले आउने हुन भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताउनुभयो । उहाँले एक व्यक्तिका अगाडि मुलुक नतमस्तक बन्न नहुने बताउनुभयो । संविधानको व्यवस्थाअनुसार महाअभियोग समिति बन्न किन ढिलाइ भएको हो भन्नेबारे उहाँले संसदमा प्रश्न गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको निवासमा म्याद टाँस्ने सर्वोच्च अदालतको प्रयास २ पटकसम्म असफल भइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको रिटको पुनरावलोकन गर्ने सर्वोच्चले निर्णय गरेपछि कार्कीलाई अदालतमा उपस्थित अदालतले आदेश दिइसकेको छ। त्यही आदेशअनुसार म्याद टाँस्न लागिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार