काठमाण्डौ
कात्तिक २
सर्वोच्च अदालतको टोलीले चलाखीपूर्ण ढंगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल गरेको छ ।
वडासचिव सरिता राईको रोहवरमा लोकमानको घरमा म्याद टाँसेको भन्ने मुचुल्का बनाएर तामेलदारहरुले सर्वोच्च प्रशासनलाई प्रतिवेदन बुझाएका छन् । पूरानो बानेश्वरस्थित लोकमानसिंह कार्कीको घरमा हिजो बिहान म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई युवाहरुले अवरोध गरेपछि म्याद टाँस्न असफल तामेलदारहरुले आज वडासचिवको सहयोगमार्फत म्याद तामेल भएको प्रतिवेदन बुझाएका हुन् । अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद तामेल भएको हो । अब अख्तियार प्रमुख कार्कीले नियमानुसार म्याद तामेली भएको मिति कात्तिक १ गतेदेखि गणना हुनेगरी १५ दिन भित्रमा लिखित जवाफ दिनु पर्नेछ । यद्यपी कार्कीले ३० दिनको म्याद थप्न पाउनुहुनेछ । मुलुकी ऐन र सर्बोच्च अदालत नियमावलीमा प्रतिवादीको डेरा, घर वा नजिकैको सार्वजनिक स्थलमा तामेली गर्न सकिने व्यवस्था रहेकाले तामेलदारले त्यही व्यवस्था अनुसार वडा कार्यालयबाट हिजो बेलुका मुचुल्का उठाएका थिए ।
म्याद तामेलमा लापरबाही गरेको भन्दै अघिल्लो तामेलदार शम्भू बहादुर खत्रीलाई सर्वोच्चले कारबाही गर्ने तयारी गरेको छ ।
