काठमाण्डौ
असोज २५
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँको मुख्य दिन बिजयादशमीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँद्वारा जारी सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको उल्लेख छ । विजयादशमी, तिहार, नेपाल सम्वत, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै उहाँले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि रहेको उहाँले बताउनुभयो । दसैँ लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताउँदै सन्देशमा यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभएको छ । उहाँले राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन ग¥यौं, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, भूकम्पको पूनर्निर्माण र राष्ट्रिय नवर्निर्माण पनि हाम्रासामू चुनौतिपूर्ण अवसरका रुपमा उभिएको छ । हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतिलाई अवसरमा बदल्न सकिन्छ र बदल्नु पर्दछ । चुनौतिलाई अवसरमा बदल्न दशैं लगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन ।
