काठमाण्डौ
असोज २१
संसदको विधायन समितिमा राजनीतिक दल तथा निर्वाचनसम्बन्धी विधेयकमा संशोधन दर्ताका लागि निर्धारण गरिएको समयसीमा आज सकिँदैछ ।
थ्रेसहोल्ड,यसलाई गम्भिर रुपमा बुझ्ने हो भने राजनीतिक दललाई माझ्ने मापदण्ड हो । किनकी,निर्वाचनमा धेरै मत प्राप्त गर्ने अर्थात निश्चित प्रतिशतसम्म मत प्राप्त गर्ने राजनीतिक दलले मान्यता पाउछन् भने थ्रेसहोल्डको व्यवस्थाभित्र पर्न नसक्ने दलहरु बढारिन्छन् । स्वभावैले यसप्रति प्रमुख दलहरु आकर्षित भइरहेपनि साना दलहरुको मनको भने ढ्याङ्ग्रो बजेको छ ।
सरकारद्धारा प्रस्तावित विधेयकमा हिजोसम्म २० वटा संशोधन दर्ता भएको विधायन समितिले जनाएको छ । राजनीतिक दलसम्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षी एमालेले संस्थागत रुपमै संशोधन प्रस्ताव दर्ता गराएको छ भने माओबादी केन्द्रका आठजना सांसदले व्यक्तिगत रुपमा थ्रेसहोल्डको प्रस्तावसहित संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसले भने आज संस्थागन रुपमा संशोधन प्रस्ताव दर्ता गराउँदैछ । एमालेले तीन प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने, नयाँ दल दर्ताका लागि १० हजारको हस्ताक्षर अनिवार्य गर्नुपर्ने र निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगले आवधिक निर्वाचनको सुनिश्चितता, लोकतन्त्रको संस्थागत विकास र निर्वाचन तयारीका लागि मिति तोक्ने अधिकार आफैँले पाउनुपर्ने माग गर्दै आएको छ । यस्तै माओबादी केन्द्रका आशा कोइरालासहित आठ सांसदले थ्रेसहोल्डको प्रस्ताव गरेका छन् । उनीहरुले भावी प्रतिनिधिसभा निर्वाचनमा कुल सदर मतको दुई प्रतिशत मत प्राप्त गर्ने संसदीय दललाई निर्वाचनमा दलीय मतका आधारमा आर्थिक सहयोग राज्यले दिनुपर्ने प्रस्ताव पनि गरेका छन् । माओबादी केन्द्रका सांसद रामनारायण विडारीले डेढ प्रतिशत थ्रेसहोल्डको प्रस्ताव गर्नुभएको छ ।
कांग्रेसले भने संस्थागत रुपमा संशोधन प्रस्ताव बुझाउँदैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आज एक चरणको आन्तरीक छलफलपछि संशोधन प्रस्ताव दर्ता गराउने जानकारी दिनुभयो ।
