काठमाण्डौ
असोज १८
सत्तारुढ दलकै सांसदहरुले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाएका छन् ।
व्यवस्थापिका–संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामअयोध्या यादवले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाउनुभयो । उहाँले दशै अगाडि नै संशोधनको प्रक्रिया बढाउने सरकारले प्रतिबद्धता जनाएपनि प्रक्रिया किन नबढाएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो । चाँडै संविधान संशोधन प्रस्ताव आउनुपर्ने भन्दै उहाँले सीमांकनको टुंगो नलागेसम्म स्थानीय तहको निर्वाचनमा जान समस्या हुने बताउनुभयो । यस्तै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संविधान संशोधनको प्रक्रिया सरकारले अघि बढाउन ध्यान नदिएको आरोप लगाउनुभयो । सांसद अकवाल अहमद साहले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे समझदारीको कार्यान्वयन हुन नसक्नुुको कारण सरकारले दिनु पर्ने बताउनुभयो । फोरम लोकतान्त्रिक सांसद गंगा चौधरीले तराई–मधेस, थारु, आदिवासी जनजातिको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
