काठमाण्डौ
असोज १४
ब्यवस्थापिका संसदले बजेटसंग आश्रित ३ वटा विधेयक आज बहुमतले पारित गरेको छ । संसदमा सरकारले हिजो पेश गरेको आर्थिक विधेयक, ऋण तथा जमानत सम्बन्धी विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आजको बैठकले बहुमतले पारित गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको चालू आर्थिक बर्ष २०७३÷७४ को बजेट संसदबाट डेढ महिनाअघि नै पारित भएपनि आश्रित विधेयकमाथिको मतदानमा ओली सरकारमै रहेको नेकपा माओवादी केन्द्रले नै विपक्षमा मतदान गरेपछि अस्विकृत भएका थिए । ती विधेयक माओवादी केन्द्रबाटै हाल अर्थमन्त्री रहेका कृष्णबहादुर महराले हिजोको संसद बैठकमा हुबहु पेश गर्नुभएको थियो । संसदको कुनै अधिवेशनले अस्वीकृत गरेको विधेयक फेरी सोही अधिवेशनमा नल्याइने प्रावधान संसदको नियमावलीमा रहेकोमा सरकारले अफ्ठेरो फुकाउन हिजो नियमावलीका ६ वटा प्रावधान खारेज गरेको थियो । त्यो संगै संसदबाट ती ३ वटा विधेयक पारित गर्ने बाटो खुला भएको हो । नियमावली खारेज गरिएको प्रति प्रमुख प्रतिपक्षी एमाले रुष्ट बनेको छ ।
