काठमाण्डौ
असोज १२
चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्याल र भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको संसदीय सुनुवाइ विशेष समितिले आज सुनुवाई गरेको छ ।
समितिको आजको बैठकमा पौड्याल र उपाध्यायलाई बोलाएर सुनुवाई गरिएको हो । प्रस्तावित राजदूत पौडेलले समितिसमक्ष आफ्नो कार्ययोजना सुनाउँदै आफूहरुलाई राजदूत भई काम गर्ने अवसर प्राप्त भए दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने अठोट ब्यक्त गर्नुभयो । उहाँले चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको बताउनुभयो । त्यस्तै, अघिल्लो सरकारले कार्य सम्पादनप्रति असन्तुष्टि स्वरुप भारतीय राजदूतबाट फिर्ता बोलाइएका उपाध्यायलाई वर्तमान सरकारले भारतमै राजदूतका लागि प्रस्ताव गरेको हो । समितिले दुवै जनासंग सुनुवाई सकेपनि अनुमोदनबारे निर्णय लिन बाँकी छ । समितिको बैठक भोली पुन बस्ने छ ।
