काठमाण्डौ
असोज ३
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक आज नबस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजेपछि बस्ने भनिएको बैठक प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्थगित भएकाले तत्काल बस्नुपर्ने अवस्था नदेखिएकाले स्थगित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा सम्बोधन गर्न आजै साँझ दाहाल नेपाल सरकारको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने प्रधानमन्त्री दाहालको पूर्वनिर्धारित कार्यक्रम हिजो स्थगित भएको थियो । मुलुकको बर्तमान परिस्थिती,संविधान संशोधनबारे दलहरुबिच छलफल गर्नुपर्ने तथा संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग बार्ता गर्नुपर्ने कारण देखाउदै प्रधानमन्त्री दाहालको भ्रमण हिजो स्थगित भएको थियो । प्रधानमन्त्री दाहालको अमेरिका भ्रमणबारे दलहरुसँग छलफल गर्न तथा भारत भ्रमणको समिक्षा लगायतबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाइएको थियो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव मनहरी तिमल्सिनाका अनुसार अर्को सुचना नआएसम्मका लागि सर्वदलीय बैठक स्थगित भएको हो ।
