काठमाण्डौ
असोज ३
नेपालको संविधान २०७२ घोषणा भएको आज एक बर्ष पुगेको छ ।
गतबर्ष आजकै दिन संविधानसभाबाट नयाँ संविधान घोषणा गरिएको थियो । यद्यपी संविधान घोषणा भएको एक बर्ष पुगिसक्दासमेत यसको सर्वस्विकार्यता र कार्यान्वयन अझै अन्यौलमा छ । यसकारण आम सर्वसाधारणमा नयाँ संविधानको भविष्यप्रति डर देखिन्छ । संविधान घोषणा भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा सरकारले पहिलो संविधान दिवस हिजोदेखिनै आज र भोलि गरी तीन दिन मनाउने घोषणा गरेको छ । सोहि अनुसार आज सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना ग¥यो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च अधिकारी एवम् काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिती थियो । सो क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको उपलक्ष्यमा एक÷एक जोडी सेतो परेवा उडाउनुभयो । साथै समारोहमा विभिन्न सांस्कृतिक झाँकी तथा कलाकौशल प्रर्दशन गरिएको छ । यसैबिच, सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरिदिएको छ ।
