काठमाण्डौ
भदौ २९
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने गरी संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।
संविधान संशोधन प्रस्ताव राष्ट्रिय अखण्डतालाई विखण्डन गर्ने गरी ल्याउन लागिएको आलीको आरोप छ । मकवानपुरको पालुङमा आज थाहा महोत्सवको उद्घाटन गर्दै ओलीले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु भएको समेत आरोप लगाउनुभयो । ओलीले अहिले विभिन्न क्षेत्रका फरक फरक माग उठेकाले एउटा समूहको मात्र माग सम्बोधन गर्न संविधान संशोधन हुनै नसक्ने तर्क गर्नुभयो । पार्टी नै पिच्छे संविधान सर्वस्वीकार्य बनाउन नसकिने बताउँदै उहाँले संसदबाट बहुमतले पारित भएको संविधान कसैलाई चित्त नबुझ्दैमा संसोधन गर्नुपर्ने बाध्यता नरहेको बताउनुभयो । छिमेकी देश भारततर्फ संकेत गर्दै उहाँले कसैले भनेको आधारमा संविधान संशोधन नहुने बताउनुभयो ।
