काठमाण्डौ
भदौ २८
पुर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणमा कुनै नयाँ सम्झौता नगरी विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।
भारत भ्रमणमा जानु २ दिनअघि आज प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्रीहरुलाई परामर्श लिन बालुवाटारमा बोलाउनु भएको थियो । पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई र लोकेन्द्रवहादुर चन्दले पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच, पर्सीदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय छलफलमा विभिन्न दलका नेताहरुले नेपालको अखण्डता,सार्वभौमसत्ता र स्वतन्त्रतालाइ ध्यानमा राख्दै राष्ट्रहित विपरित सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाइ सचेत गराएका छन् । भारतसँग विगतमा भएका सम्झौता कार्यान्वयनतर्फ भ्रमण केन्द्रित गर्न विभिन्न राजनीतिक दलले प्रधानमन्त्री दाहाललाइ सुझाव दिएका छन् । साथै दीर्घकालीन् प्रभाव पार्ने नयाँ सम्झौता नगर्न पनि केहि साना दलहरुले सुझाव दिएका छन् । नेपालको अखण्डतालाइ ख्याल राख्दै राष्ट्रियताको सवालमा अडिग रहन आफुले प्रधानमन्त्रीलाइ सुझाव दिएको पूर्वसहकारी तथा गरिवी निवारणमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । भौगोलिक रुपमा पनि भारत नेपालभन्दा धेरै गुणा ठूलो रहेको र उसको चीन तथा अन्य छिमेकी मुलुकसँगको नीति नेपालसँग मेल नखाने भएकाले भारतको चाहनाअनुसार सम्झौता नर्गन आफुले सुझाव दिएको अर्का पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।
