काठमाण्डौ
भदौ २५
गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न गणित विषयका विज्ञहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आज बिहान प्राध्यापक डाक्टर राममान श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको टोलीले गणित र विज्ञान शिक्षालाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु सहभागी थिए । गणित शिक्षामा ५० वर्ष लगातार सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको जानकारी गराउँदै टोलीले कार्यक्रममा आतिथ्यता ग्रहण गरी दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ । भेटमा प्रधानमन्त्री दाहालले विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्ने भन्दै गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले असोज १३ गते गणितिज्ञहरुलाई सम्मान गर्ने कार्यक्रममा आफू सहभागी हुने जानकारी समेत गराउनु भएको थियो ।
