काठमाण्डौ
भदौ २०
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपिडितहरुलाइ सरकारले तोकेको ४५ दिनभित्र पहिलो किस्ताको रकम उपलव्ध गराउन नसके हेलिकप्टरमार्फत पैसा लिएर सेना र प्रहरी प्रभावित क्षेत्रमा जाने बताउनुभएको छ । व्यवस्थापिका संसदको बिकास समितीको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले तोकिएकै समयभित्र भूकम्पपिडितलाइ पहिलो किस्ताको रकम उपलव्ध गराउन सम्बन्धित सबै निकायलाइ निर्देशन दिइसकिएको बताउनुभयो । भूकम्पपिडितलाइ अनुदानस्वरुप १ लाख थपेर ३ लाख रुपैया र सहुलियत ऋणमा २ लाख गरी ५ लाख रुपैया उपलव्ध गराउने गरी सरकारले गृहकार्य अगाडी बढाइसकेको बताउनुभयो । पिडितहरुलाइ एकमुष्ठ २ लाख रुपैया दिने भनिएपनि दाताहरुले पैसा नदिएकाले तत्काल त्यो निर्णय कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । दाताहरुले भनेको मान्नैपर्ने परिस्थितीले पनि भूकम्पपिडितलाइ एकमुष्ठ रकम उपलव्ध गराउन समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । बैठकमा भूकम्प प्रभावित क्षेत्रका सांसदहरुले सरकारले प्रतिवद्धता गरेअनुसार भूकम्पपिडितले ५ लाख रुपैया कहिलेसम्म पाउछन् भन्ने प्रश्न गरेका थिए ।
अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले स्थानीय निकायको नभइ अब स्थानीय तहको निर्वाचन हुने बताउनुभयो । संविधानले तोकेअनुसारको स्थानीय तहको पूर्नसंरचना सकेर आगामी चैतभित्र चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । चुनावका लागि आवश्यक कानुन यहि भदौभित्र संसदबाट पास गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणमा तराइको हुलाकी राजमार्ग निर्माणबारे भारतसँग नयाँ सम्झौता गर्ने बताउनुभयो । प्रधानमन्त्री दाहाल यहि भदौ ३० गते भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । यो सँगै झन्डै दुई दशकदेखि अलपत्र हुलाकी राजमार्ग निर्माणको आयोजना अगाडी बढ्ने संकेत देखिएको छ । बिकास समितीको बैठकमा प्रधानमन्त्री दाहालसँगै शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी,स्थानीय विकास मन्त्री हितराज पाण्डे, भौतिक योजना मन्त्री रमेश लेखक,संस्कृति पर्यटन मन्त्री जीवनबहादुर शाही, भूमिसुधार मन्त्री विक्रम पाण्डे, जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी , वन मन्त्री शंकर भण्डारी उपस्थित हुनुहुन्थ्यो ।
