काठमाण्डौ
भदौ १५
सरकारसँग भएको सहमति कार्यान्वयनबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय सचिवालयको बैठकमा अहिले छलफल जारी छ ।

बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी बैठकमा सरकारसँग भएको सहमति कार्यान्वयनको समीक्षा तथा कार्यान्वयन हुन बाँकी विषय तत्काल कार्यान्वयनमा सरकारलाई दवाव दिने विषयमा छलफल भइरहेको मोर्चा आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा कांग्रेस माओबादीसंग भएका तीन बुँदे सहमति अनुसार मधेश आन्दोलनका क्रममा मुद्धा लागेका आफ्ना कार्यकर्ताको मुद्धा फिर्ता गर्न सरकारलाई दबाब दिने विषयमा छलफल हुने छ । मोर्चाले केही दिन अघि गृहमन्त्री विमलेन्द्र निधीलाई भेटी तत्काल मुद्धा फिर्ता लिन आग्रह गरेको थियो । यस्तै सरकारले ५२ जनालाई मात्र सहिद घोषणा गरेकोमा असन्तुष्ट मोर्चाको बैठकमा बाँकी १६ जनालाई समेत सहिद घोषणा गर्न दवाव दिने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । तराई आन्दोलनका क्रममा घाइते भएकाको उपचार तथा क्षतिपूर्तिलगायतका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।
