ओलीको राजिनामापछि भारतीय पत्रिका यति खुशि किन ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ साउन ११ मंगलवार ०३:४७ बजे

ओलीको राजिनामापछि भारतीय पत्रिका यति खुशि किन ?

ओलीले राजिनामा दिन्नन् । सत्ता छोड्दैनन् । कुनै हालतमा टाँस्सिरहन्छन् कू गरेरै भएपनि । यस्तो हल्ला पिटिएको थियो । अविश्वासको प्रस्तावमा मतदान गर्न कस्सिएका सत्ता र बिपक्षी दलका नेता संसदमा उपस्थित हुँदापनि यस्तै थियो हल्ला । सत्ता सजिलै पाउन सकिन्न भन्ने मनशाय बोकेरै संसद हल छिरेका थिए, अविश्वाशको मतदान गर्न गएका दल । केपी ओलीले सरकारको नेत्रित्व लिएदेखिनै त्यसलाई गिराउन, बिरोधीहरुलाई उचाल्न र मधेश आन्दोलन मच्चाउन उक्साएको भारतलेपनि त्यसैमा विश्वास गरेको हुँदो हो । तर आफूलाई फेरिपनि राजनितिका कुशल खेलाडीका रुपमा उभ्याएर ओलीले त्यसलाईपनि असफल पारे । ओलीको राजिनामा पछि सबैभन्दा खुशि भारतीयहरु देखिएका छन् । तिनले ओली सरकार गिराउन गरेको लामो कोसिस भारतीय पत्रपत्रिका मार्फत छताछुल्ल भएको छ । नत्र भारतीय पत्रिकालाई यतिधेरै किन खुशि बन्नुपर्छ ओली सरकार गिरेकोमा ?

आन्दोलनको नाममा एक थरी राजनितिका धमिराहरु भारतीय नेताको गोडामा लम्पसार परेका थिए,ओली सरकारमा पुगेका बेला  । तिनको उद्देस्य नेपालमाथि अझ कसिलोसित नाकाबन्दि लगाएर सास्ति दिनु थियो नेपालीलाई । सरकारलाई नाकाबन्दिकै झप्पडले तह लगाउनुथियो, गिराउनुथियो ।  यस्तो बेला संयम अपनाएर, चिनतिरका नाका खोलेर थोरै भएपनि परनिर्भरता हटाउने कोसिस गरे ओलीले। सरकारले आफ्नो आन्दोलनमाथि दमन गरोस् र त्यसैको निउँमा रगतको खोलो बगाएर हत्या र हिंसा चर्काउन पाइयोस् भनेर शुरु गरिएको मधेश आन्दोलनमाथि एक लौरो नहानी असफल पारिदिए । स्पष्ठ भन्नुपर्दा, त्यो बेला मधेश आन्दोलन, नेपालमाथिको नाकाबन्दि र भूकम्पले दिएको क्षतिबाहेक अन्यतिर ध्यान दिनसक्ने समयनै थिएन ओली सरकारको । यस्तो संकटकाबेलापनि उनले कुशलतापूर्वक छिमेकीको नाकाबन्दिलाई असफल पारे । मधेश आन्दोलनलाई तुहाईदिए । नेपाललाई दूरगामी फाईदा पुग्ने, छिमेकीको दमन, हस्तक्षेपलाई दूरगामी रुपले निस्तेज तुल्याउने र नेपालीले केहिभएपनि स्वतन्त्रताको महसुस गर्ने खालका काम गरे । अन्तत यहि कुशलता उनको सरकार गिराउने मूल कारण बन्यो । पराईको गोडामा लम्पसार परेर, आफ्नै देशमाथि लात्ताले हानेर, कुर्सीमा पुग्न पराईको जतिपनि भाँडा मस्काउन, गोडा मोल्न तयार केहि नेताहरुकै कारण उनले सरकार छोड्नुपर्‍यो । नेपालीलाई सधैं दास बनाउन चाहने छिमेकी यस्तो बेला किन नरमाओस् ? अनेक तिकडम र षडयन्त्र गरेर सफलता पाएपछि भारतीय शासक वर्गको हाँसो पत्रपत्रिकामार्फत किन नछल्कियोस् ?

ओली सरकारले देश र जनताकालागि केहि दूरगामी महत्वका काम गरेका थिए । देशले स्वाभिमान महसुस गर्ने केहि कर्ममा हात हालेका थिए । सधैं भारतमाथि निर्भर रहँदा भारतले यसैगरि पटक पटक नाकाबन्दि लगाएको थियो । त्यसलाई चिर्न ओलीले चीनतर्फका तिन नाका कोदारी, केरुङ र कोरला बाह्रमासे बनाउने योजनालाई अगाडि बढाएका थिए । तराई जोड्ने फास्ट ट्रयाक नेपालले नै बनाउने योजना अगाडि सारे । नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवाले त्यहि बेला त्यो योजना भारतलाईनै दिनुपर्छ भन्दै भारतीय शासकको चाकरी गरेका थिए । अब बन्ने सरकारमा देउवानै मूली छन् । यसैबाट बुझिन्न र अबको सरकार भारतीय कठपूतली बन्छ भनेर ?

ओलीले हाम्रा पहाडी जिल्लामा पेट्रोलियम अन्वेषण थालनी गरेका थिए । यो त झन अप्रत्याशित नै थियो । हुलाकी राजमार्गमा भारतीयहरुको स्वार्थ लुकेको थियो, नेपालीको शान गिरेको थियो । यो रणनितिकपनि थियो । त्यहि बुझेर ओलीले आफ्नै देशले बनाउने पहल गरेका थिए । फास्ट ट्र्याक भारतलाई दिनुपर्छ भनेर हाकाहाकी भन्ने छिमेकीका कठपूतलीले कसको हितमा काम गर्लान् ? यति बुझ्न नेपालीलाई अप्ठेरो पर्दैन ।

संसदिय ब्यवस्था कम्युनिस्ट हरुकालागि फोहोरी खेल हो । तर आफैं सम्मिलित सरकारले देशको हितकालागि दूरगामी प्रभाव पर्ने राम्रा काम शुरु गर्दागर्दै त्यसलाई गिराएर कहिँ कतै नितिनै नमिल्ने कठपूतलीहरुसित गठबन्दनमा पुग्ने पार्टीले कसको हितमा काम गर्ला ? यो बुझ्नपनि राजनिति धेरै जान्नै पर्दैन ।

India News

कुनैपनि शर्त र स्वार्थ नराखि भारतीय शासकहरुले अहिलेसम्म सरकार गिराउने खेल खेलेको अभिलेखनै छैन । हरेक सरकार गिराउँदा नेपालमाथि कुनै न कुनै सन्धि वा संझौता लाद्ने वा नेपालबाट केहि लिने गरेकै छन् । भारतमाथिको निर्भरता कम गराउने, चिनसितपनि ब्यापारिक संवन्ध बढाउने, भारतले लगानी गर्न खोजेका परियोजनामा आफ्नै देशले गर्ने काम गरेर भारतलाई धोका दिएका ओलीले शुरु गरेका काम के छिमेकीको स्वार्थमा बनेको सरकारले गर्न सक्छ ? ति स्वार्थ पुरा नगर्ने शर्तमा अबको सरकार बन्न लागेको होला ? कसले पत्याउँछ ? ओलीले हात हालेका, शुरु गरेका यिनै दूरगामी योजनाहरुलाई तुहाउने पहिलो कामनै अबको सरकारको पहिलो प्राथमिकतामा पर्ने छ । यसले नेपालमाथि अझ परनिर्भर बनाउने छ । अझ चाकरी र बिदेशीको पाउमा पर्ने संस्क्रितिको विकास गराउने छ । आफ्नो प्रतिकूलको सरकार गिराएर अनुकूलको सरकार बन्ने खुशियाली अहिले भारतीय पत्रिकाले मनाईरहेका छन् । आफ्नो असली नोकर पाएको भन्दै भारतीय शासक वर्ग पत्रपत्रिकामा खुशि छचल्काएर रमाईरहेको छ । उसको स्वार्थ पुरा हुने अवस्था नहुँदो हो त यति धेरै खुशि किन हुनुपर्छ आर्काको देशमा सरकार बदलिँदैमा ?

– See more at: http://www.nepalplus.com/archives/28030#sthash.pyPTE7gb.dpuf


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट