काठमाण्डौ
भदौ २६
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त बनाउनु पर्ने बताउनुभएको छ । बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहलाई आज काठमाण्डौमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमाथि भइरहेको राजनीतिक हस्तक्षेप हटाउन चुनौतीपूर्ण रहेको बताउनुभएको हो ।
नेपालको शिक्षा क्षेत्रमा सामुदायिक क्याम्पसले पुर्याएको योगदानलाई सम्मान गर्दै सामुदायिक शिक्षामा देखिएका समस्या समाधान गर्न सरकारले उचित पहल गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले आजका विद्यार्थी भोलि राष्ट्रका बौद्धिक सम्पत्ति भएकाले देशको विकास र सामाजिक रुपान्तरणको अभियानमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले समुदायले सञ्चालन गर्दै आएका सामुदायिक क्याम्पसलाई आंगिक बनाउने तयारी सरकारले अघि बढाएको बताउनुभयो । निजी र सरकारी तहबाट ९ विश्वविद्यालय र १२ सय क्याम्पस सञ्चालनमा रहेको बताउँदै मन्त्री पौडेलले उच्च शिक्षामा देखिएका जटिलतालाई सम्बोधन गर्न सरकारले उच्च शिक्षा ऐन ल्याउने तयारी गरेको जानकारी गराउनुभयो ।
