काठमाण्डौ
साउन ३२
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । यो विजयसँगै नेपालले लिग च्याम्पियनसिपमा आफ्नो आशा कायमै राखेको छ । लिगमा नेदरल्यान्डसलाई नेपालले पहिलो पराजय भोगाएको हो ।
आठ वटा खेलमध्ये पाँच खेलमा विजय भएको नेदरल्याण्ड दुई वटा खेल नो रिजल्ट भएको थियो । नेपालसंग खेल्नुअघि प्रतियोगितामा अपराजित एकमात्र टिम नेदरल्यान्डस नै थियो । आस्टलभिलस्थित भि आर ए मैदानमा हिजो भएको खेलमा २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए ।
नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुडले ३५ रन बनाएका थिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाएका थिए । नेदरल्याण्ड्सका मिचेल रिप्पोनले ४, असन मल्लिकले २ साथै भिभियन किंग्मा, पौल भ्यान मिकिरेन र भ्यानडर मर्विले १ र १ विकेट लिएका थिए । नेदरल्याण्डससंग विजयी भएपछी नेपाल नेपाल अङ्क तालिकाको छैटौ स्थानमा छ । अगाडि बढ्नका लागि अङ्क तालिकामा शीर्ष चारमा पुग्न नेपाललाई दवाव छ । नेपालसंग पराजीत नेदरल्यान्ड भने ८ खेलमा १२ अङ्कका साथ अझै शीर्ष स्थानमा नै छ । नेपालले अब केन्या, हङकङ र युएईसित खेल्न बाँकी छ ।
