काठमाण्डौ
मंसिर ४
विश्व स्वास्थ संगठन (डब्लु एच ओ)ले लामखुट्टेबाट सर्ने जिका भाइरस संक्रमणको खतरा टरेसँगै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्थाको अन्त्य भएको घोषणा गरेको छ ।
जिका भाइरसको संक्रमण तिव्ररुपमा बढेका कारण ९ महिना पहिले डब्लु एच ओले जिका संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्थाको रुपमा घोषणा गरेको थियोे । अहिले कम्तिमा ३० देशहरुमा जिका संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । लामखुट्टेको टोकाइबाट संक्रमण हुने सो भाइरसले विशेष सुत्केरी महिलालाई असरगर्ने बताइन्छ । यसको टोकाइबाट साना टाउको भएको बच्चा जन्मिने, दिमागको विकास नहुने डब्लु एच ओका आपतकालिन सेवा समितिका डाक्टर डेभिड हेमनले बताउनुभयो ।
जिका भाइरसको सबै भन्दा बढी संक्रमण भएको राष्ट्र ब्राजिलमा दुई हजार एक सय भन्दा धेरै बालबालिकामा यस्तो समस्या देखिएको अधिकारीहरुको भनाई छ । सो घोषणा हुँदा हुँदै पनि ब्रजिलको स्वास्थ्य मन्त्रालयले चाहिँ जन्मन बाँकी रहेका बच्चाहरुमा गम्भीर असर देखिन सक्ने भन्दै जिकालाई राष्ट्रिय संकटको रुपमा नै लिइरहने बताएको छ ।
