काठमाण्डौ
कात्तिक ३०
यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । प्रारम्भीक तथ्यांक अनुसार सन् २०१६ को पहिलो ९ महिना अघिल्लो वर्ष सन् २०१५ भन्दा गर्मी हुने देखिएको हो ।
वैज्ञानिकहरुले बताए अनुसार ९ महिनाको तथ्यांकले यो वर्ष गएको वर्ष भन्दा गर्मी वर्ष हुने सम्भावना ९० प्रतिशत छ । जनवरीदेखि सेप्टेम्बरसम्मको तापक्रम औद्योगिकरण भन्दा पहिलेको तुलनामा १ दशमलव २ डिग्री सेल्सियस बढी मापन भएको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले जनाएको छ ।
उसले बताए अनुसार यस वर्षका पछिल्ला तीन महिनाको तापक्रम पनि बढी हुने समभावना छ । यस वर्ष इतिहासकै सबैभन्दा गर्मी वर्ष बन्ने देखिएको डब्लुएमओले जनाएको छ । अल–निनो भनिने मौसमी प्रणालीका कारण यो वर्षको तापक्रम बढी भएको हो । तर तापक्रम बढ्नुको सबैभन्दा ठूलो कारण भने कार्बन उत्सर्जन रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्ष सन् २०१५ इतिहासकै गर्मी वर्ष बनेको थियो । तर यो वर्ष त्यो भन्दा पनि गर्मी वर्ष बन्ने देखिएको हो ।
