खेलकुद व्यायाम नगर्न विज्ञको सुझाव


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १९ बुधवार ०८:२५ बजे

खेलकुद व्यायाम नगर्न विज्ञको सुझाव

काठमाडौं १९ माघ

सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ । प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ ।

वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई नागरिक दैनिकले बुधबारबाट नियमित प्रकाशन गर्दै आएको छ । ६ दिनयताको तथ्यांक नियाल्दा प्रदूषणको मात्रामा खासै कमी आएको देखिँदैन । यद्यपि,यसै साता परेको वर्षात्का कारण भने शनिबार प्रदूषणमा केही कमी आएको थियो ।

शनिबार बेलुका सूचक सरकारी मापदण्डभित्रै सीमित रहेको थियो । ‘तीन महिनापछि उपत्यकाको प्रदूषण शनिबार सरकारी मापदण्डभित्र देखियो,’ काठमाडौंको प्रदूषण मापन गरिरहेको दृष्टिका शिशिर शर्माले भने, ‘वर्षात्ले हावामा रहेका धुलोका मसिना कणलाई जमिनमा ओराल्दा प्रदूषण घटेको हो ।’

शनिबार २ देखि ५ बजेसम्म सूचक २५ भन्दा तल झरेको थियो । अरु बेला पनि सूचक ४० कै हारहारी देखिएको थियो । त्यसैगरी शनिबारयता बेलुकाको समयमा पनि सूचक ४० हाराहारी छ । सूचक २५ तल हुनुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ठिकै मान्छ । डब्लुएचओको मापदण्ड सूचक २५ रहेको छ ।

सूचक एक सय ८० हाराहारी
बुधबार, बिहीबारको तथ्यांक एक सय ८० हाराहारी छ । त्यसैगरी शुक्रबार दिउँसो १० बजे प्रदूषण सूचक एक सय ८५ अंक पुगेको थियो । बेलुका यो सूचक सरकारी मापदण्डभन्दा झन्डै पाँच गुणा बढी हो भने डब्लुएचओ मापदण्डभन्दा झन्डै १० गुणा नै बढी ।

पानी परेका कारण शुक्रबार बेलुका, शनिबार, आइतबार, सोमबार र मंगलबारको तथ्यांकमा भने कमी देखिएको छ । शनिबार सबैभन्दा कम देखिएको थियो । शनिबार बढीमा सूचक ७७, आइतबार बढीमा एक सय २४ देखिएको थियो । सोमबारबाट भने उही पहिलाकै सूचक अंकलाई पछ्याउन खोजेको देखिन्छ । सोमबार सूचक एक सय ५५ पुगेको छ ।

शनिबारयता पानी परेका कारण सूचक ओरालो लागेको हो । शनिबार धेरै कम भए पनि आइतबार केही मात्रै कम र सोमबारदेखि पहिलेकै प्रणालीलाई पछ्याउन खोजेको शर्माले बताए । शनिबार कम मानिस घरबाट बाहिर निस्कने र यातायातका साधन पनि सडकमा कमै चल्नाले प्रदूषणमा कमी आउने गरेको शर्माले बताए ।

बिहान बढी प्रदूषण
बिहानको समय अत्यधिक प्रदूषण हुने गरेको देखिएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी प्रदूषण बिहान ५ देखि १२ बजे मध्याह्नसम्म हुन्छ । सूचक ७६ देखि एक सय ५० सम्म हुनुलाई अति प्रदूषित भएको मानिन्छ । यस्तो अति प्रदूषित १२ बजेअघि र बेलुका ६ बजेपछि हुने तथ्यांकमा देखिन्छ । यो समय कुनै प्रकारको खेलकुद, व्यायाम नगर्न विज्ञले सुझाव दिँदै आएका छन् ।

प्रदूषणको सूचक एक सय ५० भन्दा माथि हुनुलाई खतराजनक मानिन्छ । बिहानको समयमा सूचक भने एक सय ५० भन्दा माथि नै देखिने गरेको छ । दृष्टि, काठमाडौंका अनुसार उपत्यकाको प्रदूषण सूचक चार सयसम्म पुगेको तथ्यांको खबर आजको नागरिक दैनिकमा यो खबर छापिएको छ


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट