पाँचथर, ९ पुस ।
पाँचथरको लिम्बा–४ लेकगाउँमा क्षेत्रीय खेल मैदान निर्माण सम्पन्न भएको छ । सांसद विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७१÷०७२ मा ४ लाख र स्थानीयको १ लाख ५० हजारमा खेल मैदान निर्माण गरिएको स्थानीय किसानकुमार राईले जानकारी दिनुभयो ।
पहिल्यै सामान्य खेल मैदान मात्रै भएको र अहिले सांसद विकास कोषबाट स्थानीयको पहलमा खेल मैदान निर्माण गरिएको उँहाले बताउनुभयो । ‘इलाभेन साइज’ को खेल मैदान निर्माण भएपछि अहिले पाँचथरका क्षेत्र नं २ का एक दर्जन गाविस तथा छिमेकी जिल्ला इलाम तथा मोरङका खेलाडी सहभागी गराएर गाविस, अन्तर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो ।
त्यस क्षेत्रका युवाहरु खेलकुदप्रति आकर्षित भएको तथा भूगोलले समेत साथ दिएकाले खेल मैदान निर्माणका लागि आफूले केही रकम सहयोग गरेको पाँचथर क्षेत्र नं २ का सांसद भिष्मराज आङदेम्बेले बताउनुभयो । रासस
